
पोखरा । पछिल्लो केही दिन देखि कोरोना संक्रमणको दर वृद्धि हुन थालेपछि पोखराको वडा नं १०, १२ र १३ का केही टोलहरु सिल हुने भएको छ । शुक्रबार ३ वटै वडाका वडाध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गरी आज राति १२ बजेबाट लागू हुने गरी भदौ २६ गतेसम्मका लागि सिल गर्ने जानकारी दिएका हुन् ।
पोखरा १०, १२ र १३ अन्तर्गतका स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुराँस टोल, भद्रकाली हुँदै ढिकालेथर, कुँडहरचोक हुँदै मियापाटनसम्म सबै क्षेत्र सिल गरिने भएको छ । यस्तै लालीगुरासँ मिनीमार्ग, प्रगती टोल, विपी मार्ग ‘क’ र ‘ख’ सबै हुँदै भद्रकाली ‘ख’ टोल विकास क्षेत्र, माछापोखरीदेखि संगम टोल, मियाँपाटन, अन्नपूर्ण टोल हुँदै बेसलाइन स्कुल क्षेत्रका सबै क्षेत्र सिल गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सिल गरिएका क्षेत्रहरुमा खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म खोल्न पाइने छ भने एम्बुलेन्स तथा अन्य अति आवश्यकीय क्रियाकलाप गर्न भने रोक नलगाइने भएको छ । यस्ता सेवा सञ्चालन गर्दा सेनिटाइजरको नियमित प्रयोग गर्न, मास्कको अनिवार्य प्रयोग तथा भौतिक दुरी कायम गर्न वडाका वडाध्यक्षहरुले जारी गरेको विज्ञप्तिमार्फत् आग्रह समेत गरिएको छ ।

