
काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाका मृत्यु भएको छ । गत २४ घण्टामा ३ जना महिला र ११ जना पुरुष गरी १४ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार मृत्यु हुने महिलाहरुमा पर्साकी ७८ वर्षीया, काठमाडौँकी ७६ वर्षीया र तनहुँकी ७६ वर्षीया रहेका छन् ।
यस्तै मृत्यु हुने पुरुषहरुमा सुनसरीका ४३ वर्षीय, काठमाडौँका ५१ र ५४ वर्षका दुई जना, भक्तपुरका ७२ र ३८ वर्षका दुई जना, चितवनका ६१ वर्षीय, रुपन्देहीका ४० र ६० वर्षीय दुई जना, स्याङ्जाका ८५ वर्षीय, गोरखाका ४५ वर्षीय र कास्कीका ५१ वर्षीय रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । यो कुल संक्रमितको ०.६३ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा १० हजार १७६ परिक्षण भएको छ भने हालसम्म ८ लाख ३१ हजार ३६२ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर १५ हजार २६० जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना छन् भने होम आइसोलेसनमा ६ हजार १५३ जना छन् । आईसीयुमा १६० जना र भेन्टिलेटरमा २४ जना उपचाररत छन् । हाल ६ हजार ३५४ जना क्वारेन्टीनमा छन्।
