
पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिङ्टनका बोर्ड अफ ट्रष्टी सदस्य तीर्थराज अधिकारीको साधनाको स्वर्ण वर्ष लिपिबद्ध गरिने भएको छ ।
अनेसास केन्द्रीय कार्य समितिले अधिकारीले साधना थालेको ५० वर्ष पुगेको सन्दर्भ पारेर उनी बारेमा भए गरेका अनुसन्धान र लेखिएका आलेखको एकीकृत कृति प्रकाशन गर्न लागेको हो ।
२००३ कार्तिक ३० गतेका दिन पिता नारायणदत्त अधिकारी र माता रूक्मिणा अधिकारीको कोखबाट लमजुङ चन्द्रेश्वर–७, दुराडाँडामा जन्मेका अधिकारी २०२६ सालदेखि निरन्तर साधनामा क्रियाशील छन् ।
दर्जनको संख्या काव्यकृति प्रकाशन गरेका अधिकारीका जूनकीरी (कविता–२०५३) ऐना (कविता–२०५७), तीन लय: तेह्र गीत (२०६०) झटारो (मुक्तक–२०७०) यो कसको हात हो ? (कविता–२०७०) झटारो (अङ्ग्रेजी मुक्तक–२०७२) बिरिमफूल (मुक्तक–२०७३), लमजुङको सम्झना (भीसीडी), माया (आधुनिक गीतिएल्बम–२०७४) र जूनका टुक्राहरु (अङ्ग्रेजी–नेपाली मुक्तक–२०७७) प्रकाशन भइसकेका छन् ।
गोर्खा दक्षिणबाहुलगायत दर्जन बढी सम्मान पुरस्कार प्राप्त अधिकारी नेपाली मुक्तकलाई अङग्रेजीमा प्रकाशन गर्ने प्रथम प्रयोक्ता हुन् । नेपाली मुक्तकको उज्यालोलाई विश्वमा पु¥याएको योगदानको कदर गर्दै अनेसासले उनलाई मुक्तकमणि उपाधिसमेत प्रदान गरेको छ ।
यही साधनाको सम्मान स्वरुप अनेसास केन्द्रीय समितिले ‘साधनाको स्वर्ण वर्ष: मुक्तकमणि तीर्थराज अधिकारी’ ग्रन्थ प्रकाशन गर्न लागेको हो ।
समितिले उक्त ग्रन्थ सम्पादनका लागि अनेसास गण्डकी समितिका महासचिव असफल गौतम र सदस्य कल्याण पन्तलाई सम्पादक मनोयन गरेको छ ।
समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा हालै सम्पन्न बैठकले सम्पादकद्वयलाई मनोनयन गरेको हो ।असफल गौतम दुई दशकदेखि निरन्तर साधनामा क्रियाशील साधक हुन् भने कल्याण पन्त त्रिभुवन विश्वविद्यालमा प्राध्यापनसँगै साहित्य साधनामा क्रियाशील लमजुङका स्रष्टा हुन् ।
यसैबीच सम्पादकद्वयले मनोनयनको पत्र प्राप्तिसँगै साधक, समाजसेवी र सङ्गठकको छवि बनाएका अधिकारीबारेमा हालसम्म लेखिएका र प्रकाशन भएका सामग्री सङ्कलन गरी स्तरीय ग्रन्थ प्रकाशन गर्न तत्पर रहने जनाएका छन् ।
