
पोखरा । बिहीबार देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा निकै भारी वर्षा भैरहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा निकै भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा राति पनि अति भारी वर्षाको सम्भावना रहेको छ ।
नारायणी र तिनाउको बाढीले खतराको तह नाघ्यो
निरन्तरको वर्षाका कारण आएको बाढीले नारायणी र तिनाउ नदीको बहाबले खतराको तह पारेको छ ।
पुल तर्फ नारायणी नदीमा पानीको सहत ११ दशमलब २५ मिटर पुगेको छ । ११ मिटर सतह पुगेपछि सतर्कता तह नाघेको मानिन्छ ।
यस्तै तिनाउ नदीमा ५.२ मिटरसम्म सतर्कताको तह र ५.६ मिटरसम्म खतराको तह मानिन्छ । आज बिहान साढे ७ बजेसम्मको रेकर्डअनुसार तिनाउको जलसतह ५.७१ मिटर पुगेको छ । यद्यपि यो सतह घट्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र नेपाल तर्फ उत्तर–पुर्व सर्दैछ । सोही कारण देशभरको मौसम बदली भई वर्षा भएको महाशाखाले जनाएको छ ।
नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय रहेको छ । नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने मौसम विज्ञान विभागले जनाएको छ ।
