स्याङ्जा पहिरोः एकै परिवारका ९ जनाको सामूहिक दाहसंस्कार

Share:

स्याङ्जा । स्याङ्जामा पहिरोमा पुरिएर ज्यान गुमाएका एकै परिवारका नौ जनाको रामनदी धाम (राम्दी) मा सामूहिक दाहसंस्कार गरिएको छ ।

बिहीबार साँझ स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो।

नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए।

सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिएका थिए ।

पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: