नवलपुरमा पहिरोका कारण बस भिरबाट खस्यो, एकको मृत्यु, ६ घाइते

Share:

नवलपुर । नवलपुरको दाउन्नेमा पहिरोले गुड्दै गरेको यात्रुबाहक बस भीरबाट खसेको छ। उक्त बसमा सवार एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो ।

बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९४० नं.को बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । पहिरोका कारण बस खस्दा अन्य छ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए । अन्य यात्रु सामान्य घाइते भएको र गएराति नै घर फर्किएको प्रहरीले जनाएको छ।

यसैबीच दाउन्ने सडकखण्डमा पहिरोका कारण राजमार्ग बन्द भएको छ। गएराति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन गरिएको भएपनि पुनः पहिरो खस्दा आज बिहान ३ बजेदेखि सडक अवरुद्ध भएको हो। अहिले पहिरो पन्छाएर राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरी जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: