
रोजगारीको शिलशिलामा बहरानमा ज्यान गुमाएका स्याङ्गजा जिल्ला चापाकोट नगरपालिका वडा नं ६ साँखर केलादीका अशोक भट्टराईको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
मृतक भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले एनआरएन बहराइनका पाल्पा कोषाध्यक्ष रामपुर नगरपालिका वडा नं ५ का समाजसेवी बिष्णु आचार्य र सहकोषाध्यक्ष स्याङ्जा चापाकोट नगरपालिका ४ का समाजसेवी देव गिरीको सक्रियतामा संकलित रकम मृतक परिवारलाई हस्तान्तरण गरिएको हो । आर्थिक संकलन र हस्तान्तरणमा एनआरएन बहराइन कार्यसमिति र त्यहाँस्थित सामाजिक अभियन्ता र समाजसेवीहरुको सहयोग रहेको थियो ।
स्वर्गीय भट्टराईको परिवारलाई वैदेशिक रोजगारमा कार्यरत नेपालीबाट सङ्कलित ६० हजार चार सय ४५ रुपैयाँ सहयोग स्वरुप रकम पठाएको एनआरएन बहराइनका कोषाध्यक्ष विष्णु आचार्यले जानकारी दिए ।
सहयोग रकम चापाकोट नगरपालिका वडा नं ६ का अध्यक्ष एकदेव भट्टराईले स्वर्गीय भट्टराईको घरमै पुगेर उनका बुबा रविलाल भट्टराई र आमा लुकमाया भट्टराईलाई हस्तान्तरण गरिएको हो ।
रोजगारको शिलशिलामा बहराइनमा १६ महिना अघि पुगेका भट्टराईको गत साउन ८ गते मृत्यु भएको थियो । उनको गत भदौ २८ गते शव नेपाल ल्याएर कालीगण्डकीमा वैदिक परम्परा अनुसार दाह संस्कार गरिएको छ ।
वैदेशिक रोजगारमा रहेका नेपालीले दुःखमा परेको भट्टराई परिवारमा सानो भएपनि रकम पठाएर सहयोग गरेकोमा अभियानमा संलग्न एनआरएन बहराईन तथा अन्य सबै सामाजिक अभियन्ता र सहयोगी मनहरुलाई मृतकको परिवारले धन्यवाद दिएका छन् ।
- अजित क्षेत्री/स्याङ्जा
