
काठमाडौँ । विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार मृतक संख्या १० लाख २ हजार ३८३ पुगेको छ ।
यस्तै विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३३ लाख ३ हजार २०९ पुगेको छ । विश्वभर अहिलेसम्म २ करोड ४६ लाख ३४ हजार ६१ मानिस कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् भने हाल विश्वमा सक्रिय संक्रमितको कुल संख्या ७६ लाख ६६ हजार ७६५ मात्र रहेको छ ।
सबैभन्दा धेरै प्रभावित अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट २ लाख ९ हजार ४५३ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७३ लाख २१ हजार ३४६ पुगेको छ ।
अमेरिकापछि कोरोनाबाट सर्वाधिक मृत्यु हुनेमा ब्राजिल रहेको छ । ब्राजिलमा कोरोना संक्रमणका कारण १ लाख ४१ हजार ७७६ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमित संख्या ४७ लाख ३२ हजार ३०९ पुगेको छ ।
सर्वाधिक दैनिक संक्रमित र मृत्यु संख्यामा भने भारत अगाडि रहेको छ । त्यहाँ आइतबार एकैदिन ८२ हजार ७६७ जनामा संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणकै कारण १ हजार ४० जनाको ज्यान गएको छ ।
यससँगै भारतमा कुल मृत्यु हुनेको संख्या ९५ हजार ५७४ पुगेको छ भने संक्रमितको संख्या ६० लाख ७३ हजार ३४८ पुगेको छ ।
