डा. केसीको माग पूरा गर्न दबाब दिँदै नागरिक समाजको ज्ञापन

Share:

पोखरा । सरकारले डा. गोविन्द केसीसँग गरेका पूर्व सम्झौता इमानदारिताका साथ पालना गरी उनको अनशन अन्त्यको वातावरण सिर्जना गर्न नागरिक समाज कास्कीले माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्रीसमक्ष सोमबार ४ बुँदे ज्ञापनपत्र बुझाउँदै नागरिक समाज कास्कीले सो माग गरेको हो ।

१९ औं सत्याग्रहमा रहेका डा. केसीको नाजुक स्वास्थ्य स्थितिप्रति चिन्तित रहेको र उनको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै एउटा सत्याग्रहीसँग सरकारले पटक–पटक गरेका सम्झौता पूरा नगरेर जालझेल गरिनुले लज्जितको विषय भएको ठहर गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूसमक्ष हाम्रो नम्र निवेदन यो रहेको छ कि डा. केसीसँग भएका पूर्व सम्झौता इमानदारिताका साथ पालना गरियोस् । डा. केसीका माग अविलम्ब पूरा गरी उहाँको अनशन अन्त्य गर्ने परिस्थिति सरकारले सृजना गरोस् ।’

नागरिक समाज कास्की संयोजक इन्द्रकमल मानन्धरसहित सिटिजन्स् जूरीका तर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, संयुक्त देशभक्त मोर्चाका रामबहादुर पौडेल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका विष्णुहरि अधिकारी र स्वयमंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालकी शशि तुलाचनले कास्कीका सहायक प्रजिअ श्रीनाथ पौडेललाई संयुक्तरुपमा सो ज्ञापनपत्र बुझाएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: