बैतडीमा बस दुर्घटनाः ९ जनाको मृत्यु, ३४ घाइते

545
0
Share:

बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनाको ज्यान गएको छ ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो । उनीहरुमध्य चारजनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार मृतकहरुमध्ये दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको छ। अन्य छ मृतकको पहिचान हुन सकेको छैन । उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

यस्तै दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

क्षमताभन्दा बढी यात्रु बोकेको बसका चालक निदाएकाले दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।

कमेन्ट गर्नुहोस्
Share: