स्वर सम्राट नारायण गोपालको ३० औँ स्मृति दिवस मनाईँदै

Share:

काठमाडौँ । स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस शुक्रबार (आज) मनाइँदै छ ।

वि सं १९९६ सालमा असोज १८ गते काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो ।

विक्रम सम्वत २०१८ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले नेपाली भाषाका मात्रै एक सय ३५ भन्दा धेरै गीत गाएका छन् ।

उनले आफ्नो गायन यात्रामा नेपाली भाषाका मात्रै एक सय ३५ भन्दा धेरै गीत गाउनुभएको रेकर्ड छ । नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिएका छन् । यस्तै, उनले नेपाल भाषाका पनि गीत गाएका छन् ।

नारायण गोपाल २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकारका रुपमा पुुरुस्कृत भएका थिए भने २०२४ सालमा सर्वोत्कृष्ट गायकको पुरस्कार पाएका थिए ।

यस्तै, २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्य लक्ष्मी पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार र २०४५ सालमा जगदम्बा श्री पुरस्कारबाट सम्मानित हुनु भएको थियो । जगदम्बा पुरस्कारबाट सम्मानित हुने उनी नै पहिलो गायक हुन् ।

नारायण गोपालले गाएका धेरै गीतमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ । उनले गाएका ‘गल्ती हजार हुन्छन्’, ‘यहाँ होस हराएको बेला’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’, ‘ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो’ लगायतका गीत लोकप्रिय र अजरअमर छन् ।

कमेन्ट गर्नुहोस्
Share: