
काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छन्। फाइनलमा पुगेका पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि उचालेकी हुन्।
नम्रताले ‘मिस नेपाल वर्ल्ड’को टाइटलसँगै नगद २ लाख ५० हजार जितिन् । अब, उनले आउँदो बर्ष आयोजना हुने ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट यो वर्षको ‘मिस नेपाल वर्ल्ड’मा २० जना छानिएका थिए ।
प्रतिस्पर्धी २० जनामध्ये सेमीफाइनलमा १२ जना र अन्तिम प्रतिस्पर्धाका लागि ६ जना प्रतिस्पर्धी पुगेका थिए ।
यस्तै, यो बर्षको ‘मिस नेपाल सुप्रानेशनल’को उपाधि सिमल कनौजियाले जितेकी छन् भने ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जित्न सफल भइन् । उनीहरुले टाइटलसँगै साढे २ लाख पुरस्कार प्राप्त गरेका छन् ।
यो बर्षको ‘मिस ब्यूटी विथ दि प्रपोज’को उपाधि श्रद्धा शर्माले जितिन् । यस्तै, ‘मिस हेल्दी’ नग्मा सरकार, ‘मिस फोटोजेनिक’ आशिका श्रेष्ठ, ‘मिस पपुलर च्वाइस’ श्रद्धा शर्मा, ‘मिस ग्ल्यामर’ योजना भट्टराई, ‘मिस स्टाइलिस’ मेरिसा सिंह सुवाल, ‘मिस वेमन अफ सब्स्टान्स’ सन्ध्या शर्मा, ‘मिस इन्टिलेक्चुअल’ नम्रता श्रेष्ठ, ‘मिस फिटनेश’ सुवांगी खत्री र ‘मिस टुरिज्म’को टाइटल रिया श्रेष्ठले जितिन् । सब–टाइटल विजेताहरुले जनही २५ हजार प्राप्त गरे ।
कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको प्रतिस्पर्धा हिजो (शनिबार) सम्पन्न भएको हो।
