
पोखरा । आइतबार गण्डकी प्रदेशमा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका ८४ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ५४ जना रहेका छन् । उनीहरुमध्ये पोखरा महानगरपालिकाका ४४ जना हुन् भने मादी गाउँपालिकाका ६ जना र रुपा गाउँपालिकाका ४ जना हुन् ।
यस्तै, तनहुँका १२ जना, बाग्लुङका ६ जना, लमजुङका ५ जना, स्याङ्जाका ४ जना तथा म्याग्दी, गोरखा र पर्वतका एक/एक जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ३३५ पुगेको छ ।
यस्तै, कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु पुष्टि भएको छ ।
पोखरामा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको हो ।
पोखरा–१७ का ७४ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बेलुका ८ः४० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । ती महिलामा मंसिर २६ गते मात्रै कोरोना पुष्टि भएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत तनहुँको म्याग्दे गाउँपालिका–२ का ६० वर्षीय पुरुषको आइतबार बिहान ९ः३० बजे मृत्यु भएको हो । ती पुरुषमा मंसिर २४ गते कोरोना पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कारोना संक्रमित मृतकको संख्या १८४ पुगेको छ ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा ३९७३ जना संक्रमणमुक्त भएका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६७१ पुगेको छ ।
हाल गण्डकीमा १४८० सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशामा ३७५ परिक्षण भएको र हालसम्म १ लाख १४ हजार ६७९ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
