
पोखरा। अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुँदै आएको पोखरा सडक महोत्सव यस वर्ष पनि हुने भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना कहरका कारण यस वर्ष उक्त महोत्सव हुने वा नहुने अन्योलकाबीच आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले बुधबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सव गरिने जानकारी दिएको हो ।
महोत्सवमा कोरोना संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने बताइएको छ ।
पत्रकार सम्मेलनमा यस वर्ष विषम परिस्थिति भए पनि महोत्सवलाई निरन्तर दिन लागिएको आयोजकले जानकारी दिएको छ । महोत्सव विगत २१ वर्षदेखि पोखराको लेकसाइडमा आयोजना हुँदै आएको छ ।
महोत्सव यही पुस १५, १६ र १७ गते आयोजना गरिने रेवानका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । विगतका वर्षहरुमा पाँच दिन सडक महोत्सव आयोजना गरिएपनि यस वर्ष दुई दिन घटाइएको रेवानले जनाएको छ ।
पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धनका साथ साथै पोखरालाई ‘‘अंगेजी नयाँ वर्षको गन्तव्य स्थल’’ को रुपमा प्रवद्र्धन लक्ष्य राखिएको छ ।
महोत्सवमा यस वर्ष कोमागाने पार्कमा कुनै पनि कार्यक्रम आयोजना नगरिने जनाइएको छ । ३ बजेदेखि १० बजेसम्म सडकमा यातायातका साधन नचलाइ मौलिक संस्कृति झल्कने विभिन्न जातजातीका भेषभुषा सहित साँस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।
त्यसैगरी लाइभ ब्याण्डको कार्यक्रम यस वर्ष नहुने भएको छ । विभिन्न खेलकूदका कार्यक्रमलाई भने निरन्तरता दिने आयोजकले जानकारी दिएको छ।
सडक महोत्सवलाई सम्पन्न गर्न संस्थाका कार्य समिती सदस्य वसन्त गौतमको संयोजकत्वमा सचिव भिष्म राज पौडेल र सहकोषाध्यक्ष रोशन जंग कार्की तथा सहसंयोजक रहने गरि विभिन्न उपसमितीहरु गठन भएको जनाइएको छ ।
