
पोखरा । कवि केबी नाम्जाली भुरुङ मगरको नाममा स्थापित “कवि केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोष”को राशि १ लाख १ हजार रुपैयाँ पु¥याइएको छ ।
मगर भाषा प्रतिष्ठान, कास्कीले सञ्चालन गर्ने अक्षयकोषमा यसअघि ६० हजार रुपैयाँ रहेको थियो ।
अक्षयकोषमा कवि भुरुङ परिवारले ४१ हजार रुपैयाँ थप रकम हस्तान्तरण गरेपछि अब अक्षयकोषको रकम १ लाख १ हजार रुपैयाँ भएको छ ।
अक्षयकोषको ब्याजबाट हरेक दुई/दुई वर्षमा एक जना मगर स्रष्टालाई सम्मान गरिँदै आएको छ ।
अक्षयकोषको थप रकम बिहीबार आयोजित कवि नाम्जालीको ५४ औं जन्मजयन्तीका अवसरमा कविपत्नी शशी थापामगरले प्रतिष्ठानका अध्यक्ष रूद्रबहादुर हितानमगरलाई हस्तान्तरण गरिन्।
कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णबहादुर रानामगरले मगर समुदायका एक होनहार स्रष्टालाई अल्पायुमै गुमाउनुपर्दा पीडाबोध भइरहने बताए । मगर भाषा र साहित्यको विकासमा कवि नाम्जालीले पु-याएको योगदान अतुलनीय रहेको भन्दै रानामगरले कवि नाम्जालीका अप्रकाशित कृति र रचना प्रकाशनका लागि मगर संघले सहयोग गर्ने उल्लेख गरे । मगर भाषा र साहित्यको विकासमा लागिपरेका स्रष्टाहरूलाई राज्यले बेवास्ता गर्ने गरेको जनाउँदै उनले ओझेलमा रहेका मगर स्रष्टालाई अघि ल्याउन मगर भाषा प्रतिष्ठानजस्ता संस्थाले अगुवाइ गर्नुपर्ने बताए ।
अक्षयकोषका संरक्षक एवं कविका मामा क्या. नरेश थापामगरले कवि नाम्जाली एक क्रान्तिकारी कवि भएको बताए । कविले लेखेका ऊ बेलाका कवितां जस्तै देश र समाजको परिस्थिति समेत अझै उस्तै रहेको बताउँदै उनले कविका हिजोका रचना आज पनि उत्तिकै सान्दर्भिक बनिरहेको भनाइ राखे। नेपाल मगर संघ, कास्कीकी जिल्ला सदस्य पुष्पा पुनमगरले मगर समुदायको धेरै ठूलो जनसंख्या आफ्नो मातृभाषाबाट वञ्चित भएको अवस्था रहेको भन्दै मगर भाषा संरक्षणमा अहोरात्र खट्ने व्यक्ति कमै भएको उल्लेख गरे ।
मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरले देश र समाज परिवर्तनको हुटहुटीपन कविमा रहेको बताउँदै कवि नाम्जालीका हरेक कविता र मुक्तकमा क्रान्तिकारीपन झल्किने उल्लेख गरे । प्रतिष्ठानका उपाध्यक्ष यामबहादुर थापामगरले कवि नाम्जाली प्रतिभाशाली कवि भएको बताउँदै जीवनको छोटो समयमा पनि मगर भाषा र साहित्यका लागि उल्लेखनीय योगदान पु¥याएको बताए । सो अवसरमा प्रतिष्ठानका सचिव रूद्रबहादुर श्रीसमगरले कवि नाम्जालीको स्मृतिमा स्मृतिग्रन्थ प्रकाशन गर्न सके कविको व्यक्तित्व र कृतित्वलाई व्यापक बनाउन सकिने धारणा राखे।
स्याङ्जाको हरिनास गाउँपालिका–३, प्यारसिङमा जन्मिएका कवि नाम्जालीको २०६९ जेठ १२ गते ४६ वर्षको अल्पायुमै निधन भएको थियो ।
