
काठमाडौँ । कोरोना कहरका कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका कक्षा १२ का विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने गरी तालिका सार्वजनिक गरेको हो ।
पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गएको मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।
बोर्डले सबै वा केही विषयको परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा सञ्चालन हुने परीक्षामा सहभागी हुन आग्रह गरेको छ ।
साथै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरुलाई समेत आ–आफ्नो मातहतमा रहेका विद्यालयहरुलाई जानकारी गराउन बोर्डले निर्देशन दिएको छ ।

