
पोखरा । देशका केही स्थानमा आंशिक देखि सामान्य बदली रही अन्य क्षेत्रको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।
बुधबार दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
सुदुरपश्चिम प्रदेश तथा प्रदेश १ का उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
यस्तै, राति गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
