पाठ्यक्रममा मुक्तक समावेश अभियान: सामाजिक विकास मन्त्रालयलाई बुझायो ज्ञापनपत्र

Share:

पाेखरा । मुक्तकलाई पाठ्यक्रममा समावेश गरियोस्; भन्दै सोमबार दवाबमुलक कार्यक्रम सहित सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा मन्त्री नरदेवी पुन मगरलाई मुक्तक मञ्च पोखराले ज्ञापनपत्र बुझाएको छ ।

मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूलउद्धोषलाई आत्मा साथ गर्दै २०६५ सालमा स्थापित मञ्च, मुक्तक क्षेत्रमा क्रियाशील संस्था हो । मुक्तकको सैद्धान्तिकपक्ष र उत्कृष्ट रचनाहरुलाई विद्यालय तह देखी विश्वविद्यालय तहको पाठ्यक्रम समावेश गरिनु आजको आवश्यकता रहेको संयोजक रामजी प्रसाद आचार्यले बताए ।

नेपाली साहित्यकै काव्यविधामा पर्ने मुक्तकले नेपाली भाषा र साहित्यप्रेमीका माझ राम्रो लोकप्रियता पाएको भएता पनि औपचारिक अध्ययन र अध्यापनमा नसमेटिएकाे हुँदा मुक्तकको सैद्धान्तिक तथा रचनागत पक्षलाई पाठ्यक्रममा समावेश गरियोस् भन्ने हेतुले अभियानका संयाेजक आचार्य सहितकाे एक टाेलीले मन्त्री पुन मगरलाई पाठ्यक्रममा मुक्तक समावेश गर्न अनुराेध गदै ज्ञापनपत्र बुझाएकाे हाे ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पुनले मुक्तकलाई पाठ्यक्रममा समावेश गराउन सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सम्बन्धित निकायमा काम अगाडि बढाउने वचनबद्धता गरेकी छन् ।

सिङ्गो महाकाव्यले दिने वैचारिक प्रक्षेपण केवल ४ हरफको मुक्तकले दिने भएकाले मुक्तक विधाका माध्यमबाट विद्यार्थीहरुलाई दिक्षित गराउने सुवर्ण अवसर नेपाल सरकारले दिनेमा विस्वस्त भएकाे मञ्चका अध्यक्ष तथा अभियानका संयोजक आचार्यले बताए । मुक्तक मञ्च पोखराका सल्लाहकार लक्ष्मण थापाले मुक्तक विधालाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा समावेश गर्न आवस्यक रहेकाे औंल्याएका थिए ।

कार्यक्रममा अध्यक्ष आचार्य, उपाध्यक्ष भरत पौडेल, प्रकाश अधिकारी, गीता तिवारी, उप-समिति सचिव नविन भण्डारी, सल्लाहकार लक्ष्मण थापा एवं सदस्यहरु विकास गौतम, गौरव ढुङ्गाना, नवराज पौडेल, राजेन्द्र बि क, सुवास पौडेल, कृष्णा पौडेल, राम अर्याल, सम्पूर्ण पौडेल, सुरेन्द्र बि.क लगाएतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
Share: