प्रधानमन्त्री कप क्रिकेटः एपीएफलाई हराउँदै आर्मी च्याम्पियन

Share:

काठमाडौँ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि आर्मी क्लबले जितेको छ ।

शनिबार भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ११ रन बनाएको थियो । जितका लागि २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१ ओभर तीन बलमा एक सय ७८ रनमा समेटियो । एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय पारी खेले पनि हार टार्न सकेनन् ।

यस्तै शंकर रानाले २१, सुमित महर्जनले १९ रन, सुवास खकुरेल १४ रनमा आउट भए ।

त्यस्तै एपीएफका कप्तान शरद भेषवाकर शून्य रनमा आउट भए । आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३/३ तथा सुशन भारीले १ विकेट लिए । आर्मीको जितमा हरी चौहानले ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै राजेश पुलामीले २८, शाहब आलमले २५, लोकेश बमले १५, सुशन भारी र रोहित पौडेल समान १३/१३ रन जोडे । अनिल मण्डल र बिक्रम शोब समान ११/११ रन बनाए ।

एपीएफका अविनास बोहोराले ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १/१ विकेट लिए ।

उपाधिसँगै आर्मीले १० लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ५ लाखमा चित्त बुझायो ।

आर्मीको यो पहिलो एकल उपाधि हो । यस अघि पहिलो संस्करणमा आर्मीले उपाधि पुलिससँग बाडेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: