सोमबार पोखराका ३२ सहित गण्डकीमा थप ४८ जनामा कोरोना पुष्टि, २६ संक्रमणमुक्त

Share:

पोखरा । पोखराका ३२ सहित सोमबार (आज) गण्डकी प्रदेशमा थप ४८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सोमबार दिउँसो प्रदेशका ६ वटा जिल्लाका ४८ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ३२ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङका ७ जना, तनहुँका ४ जना, म्याग्दीका ३ जना तथा पर्वत र लमजुङका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार ५६५ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट २६ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १४ हजार ९७४ पुगेको छ ।

हाल प्रदेशभर ३८८ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा ३५९ रहेका छन् ।

हालसम्म गण्डकीमा २०३ जनाले भने कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ३२३ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख २७ हजार ५५ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: