
पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनैतिक स्थायित्व र शान्तिविना विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।
पोखरा फोटोग्राफर संघ नेपालको ३९ औं साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले राष्ट्रिय एकता र सहमतिविना समृद्धि सम्भव नभएको बताए ।
विकास र समृद्धिको भाषण धेरै भएको भन्दै उनले अब व्यवहारमा समृद्धि ल्याउने बेला आएको बताए । देशको स्वाधीनता बचाउन र राष्ट्रियताको रक्षा गर्न सम्पूर्ण नेपाली एक हुनुपर्ने भन्दै प्रदेश प्रमुख शेरचनले स्थायित्वका लागि सबैको एकता आवश्यक भएको उल्लेख गरे ।
प्रदेश प्रमुख शेरचनले इतिहासलाई जीवित राख्न फोटोग्राफीको ठूलो महत्व रहेको र त्यसमा फोटोग्राफरहरूले महत्वपूर्ण टेवा पु-याएको बताए । फोटोग्राफीले इतिहासलाई सम्झाउन मदत पु-याउने उल्लेख गर्दै उनले फोटोग्राफी क्षेत्रको विकासका लागि राज्यको ध्यान जानु आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष शंकर बाँस्तोला, नेपाल फोटोग्राफर महासंघका संयोजक महेन्द्रप्रसाद उपाध्याय, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्य, कार्यक्रममा सम्मानित व्यक्तित्व विश्वरत्न शाक्य, कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवहरि अधिकारी र अक्षयकोष दाताको तर्फबाट अशोक बाटाजूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा लाइभटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ फोटोग्राफर विश्वरत्न शाक्य, कैलाश फोटोग्राफर अफ द इयर अवार्डबाट जय गुरुङ, पोखरा फोटोग्राफी अवार्डबाट काजल श्रेष्ठ, सन्देश उदास, बिलक सुवेदी, मञ्जुल शाक्य, सुके घले, महेन्द्रराज बराललगायतलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नगद, सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरेका थिए ।
त्यस्तै, कार्यक्रममा संघद्वारा प्रकाशित ‘फोकस’ बुलेटिनको प्रदेश प्रमुख शेरचनले विमोचन समेत गरेका थिए ।
पोखरा फोटोग्राफर संघ नेपालका अध्यक्ष रविनाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष परशुराम शर्मा र सचिव कपिल सापकोटाले पनि आ–आफ्नो भनाइ व्यक्त गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
