आध्यात्मिक जागरणसँगै विद्यालय सञ्चालनसम्मको यात्रामा राधाकृष्ण मन्दिर

Share:

पोखरा । धार्मिक सङ्घ संस्थाको स्थापना मुख्यतः आध्यात्मिक जागरणमा नै केन्द्रित हुन्छ । पोखरा महानगरपालिका वडा नं ३२ लामोआहालस्थित राधाकृष्ण मन्दिर यस्तै आध्यात्मिक जागरण सहित निम्बार्क सम्प्रदायको बिस्तार गर्ने लक्ष्यका साथ २०२२ सालमा स्थापना भएको हो । श्री राधाकृष्ण मन्दिर शान्ति आश्रमका रुपमा रहेको यो संस्था धार्मिक रुपमा मात्र नभै सामाजिक रुपमा पनि उत्तिकै कृयाशिल देखिएको छ ।

मन्दिर स्थापनाको पाँच दशक भन्दा बढी भईसकेका अवस्थामा यहाँको राधाकृष्ण मन्दिरसँगै यसको सकृयतामा राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय केही वर्ष यता सञ्चालनमा आइसकेको छ । २०७० सालमा स्वीकृति प्राप्त गरी २०७१ सालबाट सञ्चालनमा आएको यस विद्यालयमा कक्षा ६ देखि १० सम्मको अध्ययनअध्यापन हुँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले बताए ।

“विद्यालयमा संस्कृत माध्यमिक विद्यालयको पाठ्यक्रममा आधारित रही पठनपाठन भैरहेको छ”, विद्यालयका संस्थापक शिक्षक समेत रहनुभएका उनले भने, “विद्यालयमा हाल विभिन्न जिल्लाबाट आएका ३० जना विद्यार्थी आवाशीय रुपमा अध्ययन गरिरहेका छन् ।” मन्दिर परिसरमा बृद्धाश्रमका साथै गौशाला समेत रहेको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले जानकारी दिए ।

उनका अनुसार मन्दिरको लामेआहालमा लगभग ५२ रोपनी जग्गा रहेको छ । २०२२ सालमा तनहुको शुक्लागण्डकी नगरपालिका वडा नं १ सेरावेँसीकी भक्तिनी आमाका रुपमा परिचित हरिप्रिया दाशीको संकल्प एवम् उनका गुरु भगवतशरण देवाचार्यको सकृयतामा मन्दिर स्थापना गरिएको हो । इतिहास अनुसार तत्कालिन समयमा मन्दिर स्थापनाका लागि राजा महेन्द्रसँग भेटेर जग्गा उपलब्ध गराउन आग्रह गरिएको र तत्कालिन रुपाकोट गाउँ पञ्चायतबाट जग्गा प्राप्त भएको सचिव खनालले बताए ।

मन्दिर स्थापना भएपछि नेपालका निम्बार्क सम्प्रदायका संस्थापक भगवतशरण देवाचार्य नै यहाँको पीठाधिश बन्नु भएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सदस्य एवम् ब्रम्हरुपा मा.वि.का शिक्षक रामचन्द्र सिग्देलले जानकारी दिए । उनका अनुसार भगवतशरण देवाचार्य बृन्दाबनबाट फर्केपछि २००८ सालमा स्याङ्जा, पाल्पा र तनहुँको संगम केलादीघाटमा निम्बार्क पीठ स्थापना गरी यस सम्प्रदायको प्रचारप्रसारमा लागेका थिए ।

मांशाहारलाई बर्जित गर्ने यस सम्प्रदायका अनुयायी एकान्तप्रिय, साधना प्रिय र राधाकृष्णका उपासक हुन्छन् । नेपालमा लगभग चार लाख जति निम्बार्क सम्प्रदायका अनुयायी रहेको अनुमान गरिएको छ । लामेआहालमा राधाकृष्ण मन्दिर स्थापनासँगै यस क्षेत्रमा निम्बार्क सम्प्रदायको विस्तार, बृद्धाश्रम, गौशाला आदिको स्थापना हुँदै विद्यालय समेत स्थापना हुनु आँफैंमा महत्वपूर्ण उपलब्धि भएको उनले बताए ।

सिग्देलका अनुसार राधाकृष्ण मन्दिर स्थापना भएसँगै यहाँको पीठाधिशको जिम्मेवारी भगवतशरण देवाचार्य(२०२२–२०३६), हरिदाश देवाचार्य(२०३६–२०५२), शखीशरण भण्डारी(२०५२–२०६४), लक्ष्मीशरण पौडेल(२०६४–२०७५) र मुकुन्दशरण उपाध्याय(२०७५ देखि हालसम्म) प्राप्त गरेका छन् ।

मन्दिरको सकृयतामा बृद्धाश्रम तथा विद्यालय सञ्चालनमा ल्याइएपनि यसको खर्च व्यवस्थापन भने विभिन्न दानदातव्यबाट भैरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

बृद्धाश्रममा बस्दै आएका लगभग ५० जनाको संख्याका ज्येष्ठ नागरिक मध्ये कतिपयले आफैं खाना बनाएर खाने गरेको तथा कतिपयलाई खाना बनाएर खुवाउने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव खनालको भनाइ छ । मन्दिर परिसरमा गौशाला समेत स्थापना भएको छ ।

विद्यालय सञ्चालनका लागि पोखरा महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाबाट लगभग सात लाख रुपैयाँ वार्षिक अनुदान आउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिग्देलले जानकारी दिए । विद्यार्थीलाई आवाशीय रुपमा राखेर पठनपाठन गराइएको उल्लेख गर्दै उनले आवाश खर्चका साथै शिक्षकहरूलाई पारिश्रमिकको जोहो गर्न धौधौ हुने गरेको बताए ।

“विद्यालयतर्फ शिक्षकहरूलाई अत्यन्त न्युन पारिश्रमिक दिँदा पनि मासिक एक लाख २० हजार रुपैया खर्च हुने गरेको छ”, उनले भने, “छात्रवासमा सामान्य भोजन खर्च न्युनतम मासिक एक लाख रुपैयाँ हुन्छ ।”

विद्यालयमा गुणस्तरीय शिक्षा दिने लक्ष्यका साथ योग्य शिक्षकहरूको व्यवस्थापन गरिएको उल्लेख गर्दै उनले यसको सञ्चालनका लागि केही दरबन्दी आवश्यक भएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: