
पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आपसी सहमति र सहकार्यबाट देशलाई अघि बढाउनुपर्ने बताएका छन् ।
पोखराका सात जना युवा व्यवसायीहरूद्वारा सामूहिक रुपमा १० करोड रुपैयाँ लगानीमा खोलिएको पोखरा–८, सिमलचौरस्थित सेभेन स्टार फुड एण्ड मार्ट प्रालिको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले व्यवसाय मात्र नभइ देश पनि सामूहिक रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । युवा व्यवसायीहरूले सामूहिक रुपमा गरेको लगानीले अन्य युवाहरूलाई समेत प्रोत्साहित गर्ने बताउँदै उहाँले व्यक्तिगत स्वार्थ त्यागेर सामूहिक सोंचको विकास गर्नुपर्नेमा जोड दिए ।
व्यापारमा मात्र नभइ उद्योगमा समेत लगानी गर्न व्यवसायीहरूलाई आग्रह गर्दै प्रदेश प्रमुख शेरचनले दीर्घकालीन सोंचका साथ व्यवसायलाई अघि बढाउन सुझाव दिए । युवाहरू विदेश पलायन हुनबाट रोक्नुपर्ने भन्दै उहाँले स्वदेशमै बसेर उत्पादनमा लाग्ने वातावरण बनाउनु आवश्यक भएको बताए । नेपाल प्राकृतिक स्रोतसाधनले सम्पन्न देश भएको भन्दै प्रदेश प्रमुख शेरचनले स्वदेशकै कच्चा पदार्थमा आधारित उद्योगको स्थापना गरे रोजगारी सिर्जना गर्नुपर्ने भनाइ राखे ।
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले विभिन्न राजनैतिक आन्दोलनमा युवाहरूले योगदान पु¥याएको भन्दै अब भने आर्थिक क्रियाकलापमा जोडिनुपर्ने आवश्यकता औंल्याए । आर्थिक रुपमा मुलुकलाई समृद्ध बनाउन नसके अरु कुराको अर्थ नहुने भन्दै उनले सरकारले ल्याएको मौद्रिक नीतिले व्यवसायीलाई धेरै हदसम्म सहज वातावरण दिलाएको उल्लेख गरे ।
त्यस्तै, अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले राजनीतिज्ञहरू पनि व्यवसायमा जोडिनुपर्ने भन्दै धेरैभन्दा धेरै रोजगारीको सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताए । बैंक तथा वित्तीय संस्थाहरू अझै पनि व्यवसायमैत्री बन्न नसकेको भन्दै उनले सामूहिक लगानीमा स्थापित व्यवसायलाई दिगो बनाउन सामूहिक भावनाले अघि बढ्न सुझाव दिए ।
पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले युवा व्यवसायीहरूले थालेको व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाले समेत सहज वातावरण बनाउन सघाउनुपर्ने भन्दै भाषणले मात्रै समृद्धि हासिल नहुने उल्लेख गरे । त्यसैगरी, पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले युवा व्यवसायीहरूले नाफामुखी मात्र नभइ सामाजिक भावना समेत राखेर व्यवसाय शुभारम्भ गरेकोमा खुशी व्यक्त गर्दै सामूहिक व्यवसायलाई अघि बढाउन दरिलो सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
सेभेन स्टार फुड एण्ड मार्टका अध्यक्ष इन्द्रप्रसाद भुवाई “राजु”को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मार्टका सञ्चालक डिल्लीराम पनेरूले गरेका थिए । मार्टका सात जना सञ्चालकहरूमा अध्यक्ष भुवाई र सञ्चालक पनेरूसहित बाबुराम उपाध्याय, रामप्रसाद पौडेल, सूर्यराज घिमिरे, अर्जुन अधिकारी र कृष्णबहादुर रानाभाट रहेका छन् ।

