
पोखरा । पोखराका १२ सहित शुक्रबार गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ३ जिल्लाका १४ जनामा कोरोना देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका मात्रै १२ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, लमजुङ र पर्वतका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार १२ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट १४ जना नै संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ५७५ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।
हाल प्रदेशभर २३२ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २०३ जना रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ९४ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३० हजार ३४८ नमुना परिक्षण भएको छ ।
