
पोखरा । देशका पहाडी क्षेत्रको मौसम आइतबार पनि बदली रही बाँकी भू–भागहरूमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएकाले पहाडी क्षेत्रको मौसम बदली भएको हो ।
आइतबार दिउँसो र राति प्रदेश १ का पहाडी भू–भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अहिले बिहान देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
