
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार पोखरा आउँदैछन् ।
यसअघि शनिबारका लागि तय भएको नेकपा ओली समूहको आमसभा कार्यक्रम तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित भएको थियो ।
प्रधानमन्त्री ओली आज बिहान ११ः४० बजे यति एयरलाइन्सको जहाजमार्फत पोखरा आउने छन् ।
पोखरा आएलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्न पुग्ने छन् । शिलान्यास कार्यक्रममा सहभागी भएर १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृह जाने कार्यक्रम तय भएको नेकपा ओली समूहका गण्डकी प्रदेश सहइञ्चार्ज किरण गुरूङले जानकारी दिए ।
कार्यकर्ता सम्बोधनपछि ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ । सो क्रममा उनले नवौं राष्ट्रिय खेलकुदको तयारीबारे पनि जानकारी लिनेछन् ।
रंगशाला निरीक्षणको कार्यक्रम सकेर प्रदेशका पार्टीका शीर्ष नेताहरूसँग केहीबेर आन्तरिक छलफलपछि ओली आजै साँझ काठमाडौँ फर्कनेछन् ।
