
पोखरा । नेपालमा थप ८७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५२ जना महिला र ३५ जना पुरुष गरी कुल ८७ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार ३८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरु मध्ये २ लाख ७० हजार ६०५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६२ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, मन्त्रालयले नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पुनः अद्यावधिक गरेको छ । जसअनुसार थप २३३ जनाले कोरोना कारण ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ संक्रमितको मृत्यु भएको हो भने विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका थप २३२ जनाको विवरण प्राप्त भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।
कोरोना संक्रमित मृतकको शव व्यवस्थापन गर्दै आएको नेपाली सेना र मन्त्रालयको विवरण फरक परेपछि मन्त्रालय छानबिन समिति गठन गरी अध्ययन कार्य भैरहेको छ ।
यसअघि मन्त्रालयले फागुन १२ र १३ गते पनि कोरोनाले मृत्यु हुनेको संख्या सच्याएको थियो ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७६६ रहेको छ । क्वारेन्टीनमा ५९ जना छन् ।
गत २४ घण्टामा देशभरका प्रयोगशालमा ३ हजार ३९९ परिक्षण भएको छ भने हालसम्म २१ लाख ७३ हजार ५११ परिक्षण भएको छ ।
