
पोखरा । स्याङ्जा स्वरेकमा सञ्चालित एम्वुलेन्स सञ्चालानार्थ निर्माण गरिएको अक्षयकोषमा नारायण शर्माले नगद १ लाख सहयोग गरेका छन् ।
पर्यटकीय ठाउँ स्वरेकमा नमुना स्वरेक सहयोग समाज कतार र नमुना स्वरेक सहयोगी समाज स्याङ्जाले संयुक्तरुपमा संचालन गरेको एम्वुलेन्स अक्षयकोषमा शर्माले एक लाख नगद सहयोग गरेका हुन् । एम्वुलेन्सलाई दिगो रुपमा संचालन गर्न सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषमा सहयोग गरेको शर्माले बताए ।
स्याङ्जा जिल्लाको काफलडाँडा जन्म घर भई वालिङमा बस्दै आउनुभएका शर्मा हाल कतारमा ब्यवसाय गर्दे आएका छन् । कोभिडको वेला जिल्लामै उत्कृष्ट सेवा दिएको एम्वुलेन्स अक्षयकोषमा सहयोग गर्न पाउदा खुसी लागेको शर्माले बताए । विदेशमा रहेरपनि जिल्लाको विभिन्न धार्मिक तथा सामाजिक संघ संंस्थामा सहयोग गर्दे आएका शर्माले ग्रामिण क्षेत्रबाट एम्वुलेन्स सञ्चालन गर्न चुनौती भएकोले सहज बनाउन आफुले अभियानमा हातेमालो गरेको बताए ।
अभियानका संयोजक भेषराज पराजुलीले अक्षयकोष निर्माणमा शर्माले अहिले सम्मकै सवै भन्दा बढी रकम सहयोग गरेर आफुहरुको अभियानमा साथ दिएको बताए। पराजुलीले यस अगाडि रकम घोषणा गरेर विभिन्न कारणले सहयोग नगरेकाहरु समेत जति सक्दो रकम सहयोग गर्न आग्रह गरेका छन्। नमुना स्वरेक सहयोगी समाज स्याङ्जाका अध्यक्ष घनश्याम पाण्डेयले कम्तीमा १० लाख अक्षयकोष बनाउने सोच सहित शुरु गरेको अभियानमा शर्माले गरेको सहयोग सँगै अक्षयकोषमा ७ लाख ६७ हजार रकम पुगेको बताए । समाजका उपाध्यक्ष यमलाल शर्मा पंगेनीले सबै सहयोगले नै स्वरेकको एम्वुलेन्स उत्कृष्ट तरिकाले सञ्चालन गर्न सहज भएको बताए ।
समाजका सचिव इन्द्र प्रसाद पराजुलीले आफुहरु निस्वार्थ रुपमा समाजलाई सहयोग गर्ने उद्देश्यले एम्वुलेन्स सञ्चाल गरेकोले स्वरेक मात्रै नभएर स्वरेक बाहिरबाट पनि उदारणिय सहयोग मिलेको उनको भनाई थियो ।
