
पोखरा । कास्की क्षेत्र नं १ (१) का प्रदेश सांसद युवा नेता दीपक कोइरालाले निर्वाचनमा जनता सँग गरेका कुरा पुरा गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार लेखनाथमा वेगनास जल उपभोक्ता संस्थाको १५औं साधारण सभाको उद्घाटन गर्दै नेकपा माओबादी केन्द्रका नेता समेत रहेका कोइरालाले उक्त प्रतिवद्धता जनाएका हुन् । यस क्षेत्रको लोक प्रिय र विकास प्रेमी नेताको रुपमा परिचित कोइरालाले नेकपा फुटको असर विकासमा पर्न नदिने शुक्रबार पुनः दोहो-याएका छन् । सांसद कोइरालाले रुपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा सम्बोधन गर्दा पनि बिहीबार उक्त कुरा बताएका थिए ।
बहुदलीय ब्यवस्थामा पार्टीहरु फुट्ने र जुटने कुरालाई ठुलो रुपमा नलिन आग्रह गर्दे उनले आफु प्रदेश सांसद भएर आएपछि आफ्नो निर्वाचन क्षेत्रमा जनताले महसुस गर्ने गरि कामहरु भएको बताए । लकडाउनको वेलापनि अन्य क्षेत्र ठप्प हुदा वेगनास क्षेत्रमा विकासको काम धमाधम भएको कोइरालाको भनाई थियो । बेगनास ड्याम ४५ सालमा निर्माण भएपछि हाल सम्म मर्मत पनि नभएको ड्याम पुननिर्माण भएको र अहिले बाधमाथी ढुङ्गा राख्ने काम पनि जारी रहेको बताए ।
कोइरालाले यस वर्ष लेखनाथ क्षेत्रमा वर्षाको कारण सिंचाई नहरहरु भत्केर धेरै नोक्सान भएकोले अहिले नै नहर कुलो मर्मतको लागि ४० लाख रकम भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत व्यवस्था गरिएको र थप बजेट अर्को आर्थिक वर्षमा राख्ने प्रतिवद्धता समेत जनाए । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति समेत रहेको कोइरालाले विकास हुनको लागि जनप्रतिनिधि, जनता र कर्मचारी बिच राम्रो समन्वय हुुनु पर्नेमा जोड दिंदै जनताको साथ र सहयोग विना विकास असम्भव हुने बताए ।
कार्यक्रममा बोल्दै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले सिंचाईको क्षेत्रमा आफ्नो कार्यालय गर्ने कामको बारेमा जानकारी गराएका थियो । प्रदेश सरकारले पाँच वर्ष भित्रमा खेती योग्य जमिनमा आधारभूत सिंचाई पु-याउने लक्षय सहित शुरु गरेका कामहरु अगाडि बढेको र अबको केही दिनमा वर्षाले क्षति पु-याएको नहरहरुको मर्मत तथा पुननिर्माण शुरु हुने बताए ।
पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले सिंचाई क्षेत्रमा परेको अप्ठेराहरु प्रदेश सांसद दीपक कोइराला मार्फत हल गर्दे अगाडि बढेको बताए । प्रदेश मार्फत सिंचाई, मोटरेवल पुल र झोलुङगे पुल ,गण्डकी विश्वविद्यालय लगायतका थुप्रै योजना आफ्नो क्षेत्रमा परेको भन्दै कार्कीले सांसद कोइराला सँग आफुहरुको मात्रै नभएर जनताको पनि ठुलो आस र भरोसा रहेको बताए ।
बेगनास जल उपभोक्ता संस्थाका सल्लाहाकार बासुदेव लामिछाने र धु्रव अधिकारीले वेगनास ताल क्षेत्रमा गरेको काम उदारणीय रहेको भन्दै बेगनासको ओभरफ्लोलाई घोतघोतेबाट सेतीमा खसाउने व्यवस्था मिलाउन प्रदेश सांसदले पहल गरिदिनुपर्ने बताए । वेगनासकै पानीले अहिले बर्खामा धेरै क्षति पुगेकोले वर्षको २ महिना वेगनासको पानी सेतीमा फाल्ने व्यवस्था हुनुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रममा वेगनास जल उपभोक्ता संस्थाले वडाध्यक्ष अक्कल बहादुर कार्की, सेवा निवृत्त भएका कर्मचारी जगबहादुर पुन र समितिका झमबहादुर पुनलाई सम्मान पत्र सहित दोसल्लाले सम्मान गरिएको थियो ।कार्यक्रम पुष्पराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

