
बाग्लुङ । विवेकशील साझा पार्टी गण्डकी प्रदेशले बाग्लुङ बजारमा एक भेलाको आयोजना गरी युवा उद्यमी सुरज श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय बाग्लुङ जिल्ला समिति घोषणा गरेको छ।
सो समितिको सहसंयोजकमा कृषिउद्यमी लुना थापा मगर रहेकी छन् भने सदस्यहरूमा जीवन थापा मगर, निर्माण घिसिङ्ग, योगेश थापा, राजेश श्रेष्ठ, सुरज खड्का, दीपेन्द्र खड्का र माधव रेग्मी रहेका छन्।
सो भेलालाई सम्बोधन गर्दै पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख निर्देश सिलवालले विवेकशील साझा पार्टी आगामी निर्वाचनमा जनताको पहिलो रोजाइ बन्ने दृढता व्यक्त गरे।
गत आमनिर्वाचनमा पार्टीको तर्फबाट एकजना पनि उम्मेदवार नउठ्दा समेत बाग्लुङबाट जसरी हजारौँ मत समानुपातिकमा प्राप्त भयो त्यसले जनताको आशा विवेकशील साझा भएको प्रमाणित गर्छ भन्दै नवघोषित समितिलाई बधाइ दिए।
कार्यक्रममा विवेकशील साझा पार्टीका सचिवालय सदस्यहरू महेश भण्डारी, सुमित्रा गुरुङ्ग, केन्द्रीय सदस्यहरू दीपक पौडेल, सुशीला केसी अधिकारी, रजनी केसी, प्रमेश श्रेष्ठ, आशुतोष प्रधान लगायतका नेताहरूले शुभकामना तथा बधाइ सन्देश राखेका थिए।
यसअघि विवेकशील साझा पार्टी गण्डकी प्रदेशले नवलपुर जिल्लाको समायोजनलाई टुङ्ग्याएको थियो भने चाँडै नै स्याङ्जा, लमजुङ, गोरखा र तनहुँमा समायोजन र बिस्तार गर्ने तयारीमा छ ।


