यस वर्षको गीताञ्जली साहित्य रत्न पुरस्कार प्रा.डा अधिकारीलाई

Share:

पोखरा । गीताञ्जली साहित्य परिवारले प्रदान गर्ने गीताञ्जली साहित्य रत्न पुरस्कार प्रा.डा नारायण अधिकारीलाई प्रदान गरिने भएको छ ।

प्रतिभा छनौट समितिका संयोजक डाक्टर जगन्नाथ रेग्मीको अध्यक्षतामा बसेको वैठकले सो निर्णय गरेको हो ।

पुरस्कारको राशी ११ हजार ५ सय रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । त्यस्तै बाल साहित्य पुरस्कार दिपशिखा पौडेललाई र मुक्तकमणि राष्ट्रिय पुरस्कार शंकर ज्ञवालीलाई प्रदान गरिने निर्णय समेत गरिएको छ ।

हरेक वर्ष प्रदान गरिने तीन वटै पुरस्कार यस वर्ष चैत्र १४ गते विशेष समारोहको आयोजना गरी प्रदान गरिने गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमले जानकारी दिए।

डाक्टर जगन्नाथ रेग्मी संयोजक रहेको प्रतिभा छनौट समितिमा सदस्य पत्रकार दुर्गा अधिकारी र साहित्यकार रामनाथ अधिकारी सङ्गी रहेका थिए । गीताञ्जली साहित्य रत्न पुरस्कारबाट यसअघि डाक्टर कुसुमाकर न्यौपाने, कवि तेजनाथ घिमिरे, रुद्रबहादुर थापा मगर हितानी, तारा पाखे, शरण आसु लगायतका व्यक्तित्वहरु सम्मानित भईसकेका छन् ।

२०५८ सालमा स्थापित संस्थाले भाषा साहित्य संस्कृतिको जगेर्ना गर्दै बालबालिका युवायुवती, जेष्ठ नागरिकलाई समेत आफ्नो साहित्यिक प्रतिभा प्रस्तुत गर्ने अवसर समान रुपले प्रदान गर्दै आएको छ । संस्थाले आफ्नो स्थापनादेखि अहिलेसम्म २२० औं साधना प्रभात नियमित रचना बाचन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: