
स्याङ्जा । स्याङ्जाको जंगलमा लागेको आगो फैलिएर वस्तीमा आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको छ । आगलागीबाट गोठमा पालेका वस्तु पनि मरेका छन् ।
शुक्रबार दिउँसो १ः३० बजेतिर गल्याङ नगरपालिका वडा नं ७ दारेगौडा स्थित लसुने खोलाको पाखो जंगलमा लागेको आगोले अचानक सोही स्थानका घर गोठ जलेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
आगलागीबाट सोही स्थानका भागीरथी पाण्डेको खरले छाएको, माटो र ढुङ्गाले बनेको २ तले घर, घरसँगै जोडिएको खरले छाएको १ तले गोठ नष्ट भएको छ । गोठमा रहेको ७ वटा बाख्रा जली मरेको, १ वटा बाख्रा घाइते भएको छ ।
यस्तै, चन्द्र प्रसाद पाण्डेको खरले छाएको १ तले घर र गोठ समेत जली नष्ट भइ ८ वटा बाख्रा मरेको र ४ वटा बाख्रा घाइते भएको जनाइएको छ । आगलागीबाट अन्य मानवीय क्षति नभएको प्रहरीले जनाइएको छ ।
प्रहरीका अनुसार घर र गोठमा लागेको आगो २ः१५ बजे नियन्त्रणमा आएको तर पाखोमा लागेको आगो निभाउने कार्य जारी रहेको प्रहरीले जनाइएको छ ।
