
लेखनाथ । आफनो कला र सस्कृितको रक्षा गर्दै जातीय एकतालाई निरन्तरता दिने उदेश्यले पोखरा महानगरपालिका वडा नं २६ को नेपाल मगर संघ बुढी बजार ईकाई समितिले उत्साहजनक तरिकाले फागु पूर्णिमा पर्व मनाएको छ ।
सात वहिनी माइ मन्दिर गुदेताल किनारमा रहेको आफ्नो सामुदायिक भवनमा जम्मा भई परापुर्वकाल देखि चल्दै आएको संस्कृतिलाई आत्म साथ गर्दै माई देवीको पूजापाठ र विविध सांस्कृतिक कार्यक्रम गरी उनीहरुले फागु पूर्णिमा पर्व मनाएका हुन् ।
कार्यक्रममा नेपाल मगर संघ वुढि बजार ईकाई समितिका अध्यक्ष राम बहादुर राना मगरले आफ्नो विचार राख्दै वसन्त ऋतुको आगमन र खेतीबालीको समय आउन लागेको, केही दिनदेखि मौसममा खराबी हुँदै तुवालोले ढाकिएको, ठाउँठाउँमा वनजङ्गलमा आगलागी भएकाले माई देवीको पूजापाठले आकासबाट पानी पर्ने र वतावरण स्वच्छ हुने विश्वास व्यक्त गरे ।
आफ्नो कला र संस्कृितको संरक्षण गर्ने उदेश्यले हरेक वर्ष होलीका दिन समाजले मनाउदै आएको पर्वलाई यो वर्ष पनि निरन्तरता दिएको हो । मगर समुदायको मौलिक संस्कृतिका रुपमा रहेको यो पर्वमा माई देवीको पूजापछि मिठा मिठा परिकार खुवाउने साथै नाचगान गरेर रमाईलो गर्ने प्रचलन रहदै आएको छ ।
नेपाल मगर संघ बुढिबजार ईकाई समितिका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यबाहक सचिव केश गुर्माछान मगरले माई देवीको पूजा पछि गरिने कौरा नृत्यले मगर समुदायको मौलिक संस्कृतिलाई बचाउदै मनोरञ्जन समेत प्रदान गराउने विचार राखेका थिए ।
