
काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले रुक्माङ्गद कटवाल टस्टले विशेषतः शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै टस्टको उत्तरोत्तर प्रगतिको कामना गरे । राजधानीको आर्मी अफिसर क्लबमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति थापाले सो कुरा बताएका हुन् ।
त्यस्तै, पूर्व प्रधानन्यायधीस सुशीला कार्कीले ट्रष्टमार्फत रुक्माङ्गद कटवालले समाजलाई पु¥याउनुभएको सामाजिक कामको स्मरण गर्दै एउटा व्यक्तिले चाह्यो भने त यत्रो काम गर्न सकिँदोरहेछ रहेछ भन्दै सामाजिक कार्यमा ऐक्यवद्धता जनाउन सबैलाई आव्हान गरे । साथै उनले सो अवसरमा आफूले भाषण गरी कमाएको रु. २५००० हजार ट्रस्टलाई प्रदान गरे ।
सो अवसरमा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी, पूर्व सचिव डा. रामकृष्ण तिमिल्सिना, पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा संस्था वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै छात्रवृत्ति विवरण, आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
छात्रवृत्ति पाउने विद्यार्थीको तर्फबाट नेशनल ल कलेजमा बीएएलएलबिका लागि छात्रवृत्ति प्राप्त छात्रा सफलता विक, शिक्षकको तर्फबाट शिक्षाविद् एवं पूर्व सचिव डा. रामकृष्ण तिमिल्सिना, कार्यसमिति सदस्य एवं चर्चित कलाकार जितु नेपाल, वरिष्ठ कलाकार दीपाश्री निरौलालगायतले आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न वरिष्ठ कलाकारहरुको प्रस्तुतीका साथ विद्यार्थी भाइबहिनीहरुले समेत आफ्नो सांगीतिक प्रस्तुती राखेका थिए । कार्यकमको सञ्चालन नागरिक अभियन्ता निगम हुमागाईले गर्नुभएको थियो भने करीब ४०० जनाको उपस्थिति रहेको थियो ।
वि.सं. २०७१ सालमा स्थापित यस संस्थाले हालसम्म ११८ जनालाई छात्रवृत्ति प्रदान गरिसकेको छ । सैनिक विद्यालय र अन्य स्कुल तथा कलेजमा अध्ययनरत गरिब, जेहेन्दार, दलित, अपाङ्ग, वीरगति प्राप्त सैनिकका छोराछोरीहरुलाई छात्रवृत्तिमार्फत उच्च शिक्षा अध्ययनको क्रममा आर्थिक सहायता प्रदान गर्दै आइएको ट्रस्टका सचिव जगत कटवालले बताए ।
त्यस्तै संस्थाको पहलमा विगतमा दैवी विपत्तिमा सहयोग, राष्ट्रिय एकत र पर्वतारोहण, स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य शिविरहरु समय समयमा सञ्चालन गर्दै आइरहेको ट्रस्टका कोषाध्यक्ष सुलक्षणा ढकालले बताए ।

