
पोखरा । सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था वैशाख मसान्तभर बन्द गर्ने निर्णय गरेको छ । यससँगै उक्त शैक्षिक संस्थाहरुमा विद्यार्थी भौतिक रुपमा उपस्थित नभई वैकल्पिक विधिबाट पढाइ हुनेभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म ठूला शहरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअनुसार काठमाडौँ उपत्यकाका सबै महाहानरपालिका र नगरपालिकाका विद्यालयहरु बन्द हुनेछन् । ललितपुरको कोन्ज्योसोम, बाग्मती र महांकाल गाउँपालिकालाई समोवश गरिएको छैन ।
उपत्यकाबाहिर विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिका तथा इटहरी, धरान, जनकपुर, हेटौंडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी उपमहानगरपालिका, मेचीनगर, विर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर र भीमदत्तनगर नगरपालिकामा शैक्षिक संस्थामा विद्यार्थी भौतिक रुपमा उपस्थित नभई वैकल्पिक विधिबाट शैक्षिक गतिविधि गर्नुपर्नेछ ।
