कार्यक्षेत्र हेरेर कारोबार गर्न सहकारीका कर्मचारीलाई गण्डकीका रजिष्ट्रार पराजुलीको आग्रह

Share:

बागलुङ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश, पोखराका रजिष्ट्रार उदय बहादुर पराजुलीले सहकारी संस्थाको कार्यक्षत्र हेरेर कारोबार गर्न सहकारीका कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सहकारी बैंक दमौली शाखाले शुक्रवार (भर्चुअल रुपमा) आयोजना गरेको बजार प्रतिनिधिहरुको दक्षता अभिवृद्धि तालिममा बोल्दै रजिष्ट्रार पराजुलीले कार्यक्षेत्र भित्र पनि सदस्यसँग मात्रै कारोबार गर्नु पर्नेमा अन्यथा समेत हुने गरेको भन्दै कर्मचारीहरुलाई सचेत बनाए ।

सहकारी संस्थाहरुले कार्यक्षेत्र र गैर सदस्यसँग कारोबार गर्न नपाइने कानुनी व्यवस्था भए पनि कतिपय सहकारीहरुले त्यसको पालना नगरेको भन्दै उनले कानुनको पूर्ण पालना गरेर कारोबार गर्न आग्रह गरे । कानुन उल्लंघन गर्ने सहकारीहरु कार्वाहीको दायरामा आउने उनको चेतावनी थियो ।

सहकारी सदस्य केन्द्रीत व्यवसाय हो, सदस्यसंग नियमित कारोबार गर्नु पर्ने सहकारीको काम हो रजिष्ट्रार पराजुलीले भन्नुभयो–‘कार्यक्षेत्रभन्दा बाहिर र सदस्य भन्दा बाहिर कारोबार गर्ने सहकारीहरुलाई सच्याउनका लागि कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुन्छ, त्यसैले कर्मचारीहरुले सहकारीमा हुने गरेका कानुन विपरितका काम रोक्न पहल गर्नु पर्छ ।’

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी संस्थाहरुको साख वृद्धि गर्नका लागि कर्मचारीहरुको भूमिका प्रभावकारी हुने भएकाले उनीहरुको दक्षता अभिवृद्धिका लागि संस्थाले योजना बनाएर काम गर्नु पर्नेमा जोड दिए ।

राष्ट्रिय सहकारी बैंक दमौली शाखा समन्वय उपसमितिका संयोजक तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमर बहादुर कुँवरले सहकारी अभियानलाई व्यवस्थित गराउनका लागि सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुका बीचको समन्ध र क्षमता बढाउनुपर्ने बताए ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अधिकृत सागर खनालले सहकारीका कर्मचारीहरुले सहकारीताको मर्म र भावनालाई बुझेर काम गर्न सक्ने हो भने यसबाट व्यक्तिगत तथा सामाजिक रुपमा समेत महत्वपूर्ण परिवर्तन गर्न सकिने बताए । उनले पेशालाई सम्मानका साथ अगाडि बढाउन कर्मचारीहरुले सदैव ध्यान दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बैंकका तालिम विभागका अधिकृत सूर्य रिमालले सहकारीका बजार प्रतिनिधिहरुको काम कर्तव्य र अधिकार, सहकारीलाई व्यवस्थित रुपमा सञ्चालनका लागि बजार प्रतिनिधिहरुले जान्नै पर्ने महत्वपूर्ण विषयहरु, बजार प्रतिनिधिहरुको व्यवहार, कोरोना महामारीमा ध्यान दिनु पर्ने कुराहरु लगायतका विषयमा सहजीकरण गरेका थिए ।

तालिम कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैक दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: