जनसंख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोग रोक्न ८० राष्ट्रहरूको प्रतिवद्धता

Share:

जनसंख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोगलाई रोक्न संयुक्त राष्ट्रसंघ र रेडक्रसले समर्थन गरेको घोषणालाई शुक्रबार डब्लिनमा भएको सम्मेलनमा ८० राष्ट्रहरूले प्रतिवद्धता जनाएका छन् । यद्यपि उक्त सम्झौता कानुनी रूपमा बाध्यकारी छैन ।

 तर ती राष्ट्रहरूले युद्धमा फसेका नागरिकहरूलाई बचाउनको लागि शहरी तथा बसोवास भएको क्षेत्रहरूमा हतियारको प्रयोगलाई प्रतिबन्ध गर्न सहमत भएका छन् ।

संयुक्त राज्य अमेरिकासहित आर्थिक रूपमा उन्नत राष्ट्रहरूको समूह जी-७ का सबै सदस्यहरू उक्त सम्झौतामा सहमत भएका छन् तर रुस र चीन भने यस बारे मौन छन् ।

पछिल्ला दिनहरूमा युक्रेनका शहरी क्षेत्रहरूलाई लक्षित गर्दै मस्कोले आफ्नो बम विष्फोट अभियानको लागि व्यापक आलोचनाको सामना गर्नु परेको छ । जुनमा जेनेभामा संयुक्त राष्ट्रसंघको बैठकमा अन्तिम रूप दिइएको यो घोषणा आयरल्याण्डको नेतृत्वमा भएको तीन वर्षको परामर्शको परिणति हो ।

 ‘जनसंख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोगको विनाशकारी प्रयोगलाई यस्सै हल्कारूपले लिन सकिँदैन’, आयरल्याण्डका विदेशमन्त्री साइमन कोभेनीले सम्मेलनमा भनेका छन् ।

‘हामी यो राजनीतिक घोषणा नागरिकको संरक्षणको मौलिक महत्त्वमा सन्देश पठाउँदै वर्तमान र भविष्यका द्वन्द्वहरूका लागि सान्दर्भिक होस् भन्ने चाहन्छौं’, उनले भनेका छन् ।

 रेडक्रसको अन्तरराष्ट्रिय समिति (आईसीआरसी) का नयाँ अध्यक्ष मिर्जाना स्पोलजारिकले पनि यो दस्तावेज ‘समस्याको गम्भीरतालाई स्वीकार गर्न र यसलाई सम्बोधन गर्न ठोस कदम चाल्ने प्रतिवद्धता’ गर्ने प्रकारको पहिलो दस्तावेज भएको बताएका छन् ।

 संयुक्त राष्ट्रसंघ र आईसीआरसीले वर्षौंदेखि राष्ट्रहरूलाई नागरिकहरू बस्ने र भेला हुने ठाउँहरूमा हतियार प्रयोग नगर्न प्रतिबद्ध हुन आह्वान गर्दै आएको छ । सिरिया, इराक, यमन र हालै युक्रेनमा भएका युद्धहरू लगायत शहरी द्वन्द्वका तथ्यांक र अनुसन्धानले घोषणापत्रलाई थप सान्दर्भिक बनाएको छ ।

गत दशकको द्वन्द्वबाट संकलित संयुक्त राष्ट्रसंघको तथ्यांकले शहरी क्षेत्रमा विस्फोटक पदार्थका कारण हुने मृत्युमध्ये ९० प्रतिशत सर्वसाधारण नागरिकको रहेको देखाएको छ भने जम्मा १० प्रतिशत सैन्य हताहती हुने गरेको पाइएको छ ।

जर्मनीमा शरण खोज्न एलेप्पोमा लडाइँबाट भागेका अपागंता अभियानकर्ता र सिरियाली शरणार्थी नुजीन मुस्तफाले सम्मेलनलाई भने, ‘जब निहत्था नागरिकहरू माथि बमबारी हुन्छ । त्यसले उनीहरूको जीवन, शहर र घरहरू मात्र गुमाउँदैन सिङ्गो जीवन र सन्ततिको भविष्यको यात्रा पनि गुमाउँछन् । म तपाईंलाई यो प्रतिवद्धताको सम्मान गर्न प्रोत्साहित गर्दछु किनभने द्वन्द्व क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरू जो विस्फोटक हतियारको शिकार भएका छन् तिनिहरूलाई अपेक्षा, आवश्यकता र लिखित प्रतिवद्धता मात्र होइन त्यसको कार्यान्वयनको खाँचो छ ।’

कमेन्ट गर्नुहोस्
Share: