प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान

Share:

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दैछन्। 

 

यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन्। प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ।

विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुन: सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन्। प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछन्। 


प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताहरूले मतदान गर्दैछन्। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्नेछन्।


अध्यक्ष दाहाल आफ्नो मताधिकार प्रयोग गर्न आजै अपराह्न चितवन पुगिसकेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। उनले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दैछन्। 


एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दैछन्। सोही पार्टीका नेता झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्नेछन्।


यस्तै लोकतान्तिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नेछन्। अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्।


जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै छन्। उनी सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्।


कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौँ–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दैछन्। अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नेछन्।


कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ–१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नेछन्। कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नेछन ।


यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताले आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्ने जनाइएको छ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नेछन्। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नेछन्।


एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन्।

मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपरेको छ।

कमेन्ट गर्नुहोस्
Share: