मतपत्र मिसमास गरिएको घटनामा आपत्ति छ : रवि लामिछाने

Share:

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मोरङ–३ को पथरी शनिश्चरे ९ नम्बर वडाको कार्यालयमा मतपत्र मिसमास गरिएको घटनामा आपत्ति जनाएका छन्। 

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष लामिछानेले उक्त क्षेत्रमा प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपत्रमा प्रदेशको मतपत्र मिसाइएको पाइएकोमा आपत्ति जनाएका हुन्।  

उनले भनेका छन–  

गम्भीर ध्यानाकर्षण, आजको निर्वाचनमा ४ वटा मतपत्र पाइन्छन्। त्यसमा क्रम हेर्ने हो भने पहिलो प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र हुन्छ, दोस्रो मतपत्र प्रतिनिधिसभाको समानुपातिकको हुन्छ, तेस्रो प्रदेशसभाको प्रत्यक्षको र चौथो प्रदेशसभाको समानुपातिकको हुन्छ। र, यही हुनु पर्छ। तर यस्तो भएन।

आज मोरङ निर्वाचन क्षेत्र ३ को पथरी शनिश्चरे ९ नम्बर वडाको कार्यालयमा भएको निर्वाचन केन्द्रमा मिसमास गरिएको भेटियो। प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपत्रमा प्रदेशको मतपत्र मिसाइएको पाइयो। यो पत्ता लागे पछि मतदान रोकिएको थियो। तर हामीले यो मानवीय त्रुटी मात्रै भएको मानेर पछि गणना हुने गरि भन्ने सर्वदलीय सहमति पछि निर्वाचन सुचारू गरियो।

तर यस्तै प्रकृतिका त्रुटी भएका अन्यत्रबाट पनि त्यसपछि खबरहरू प्राप्त भइरहेका छन्। घण्टी चिन्ह भएको समानुपातिकको मतपत्रमा नै एकै किसिमको त्रुटी हुनु मानवीय मात्र नभएर सुनियोजित हो कि भन्ने हामीलाई शंका छ। यसैले सम्पुर्ण सरोकारवालाहरूले आफ्नो कर्तव्यमा कुनै पनि आग्रह पुर्वाग्रह र स्वार्थ मिसिन नदिन हुन अनुरोध गर्दै मतदाताहरूले प्रतिनिधिसभाको समानुपातिकमा घण्टी चिन्ह भएको नभएको निर्क्यौल गरेर खबरदारी गरिदिनु हुन हार्दिक आग्रह गर्दछौँ।

कमेन्ट गर्नुहोस्
Share: