अठासी प्रतिशत महिला पत्रकार हिंसामा

154
0
Share:

काठमाडौं : ‘महिला पत्रकारमाथि अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ ।

छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत दुई सय ८१ महिला पत्रकारको सहभागिता रहेको अध्ययनमा ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले हिंसा भोग्नुपरेको देखाएको छ । सन् २०२२ मे महिनादेखि ३१ अगस्टसम्म गरिएको अध्ययनमा हिंंसा गर्ने व्यक्तिबारे सोधिएका प्रश्नमा दुई सय ८१ जना सहभागीमध्ये एक सय १६ जनाले कार्यालयभित्रका सहकर्मीबाट, ८९ जनाले कार्यालय बाहिरका सहकर्मीबाट, ८९ जनाले परिचित व्यक्तिबाट, ६३ जनाले समाचार स्रोतबाट, ५६ जनाले राजनीतिक दलसम्बद्ध व्यक्तिबाट र २६ जनाले सरकारी अधिकारीबाट अनलाइन हिंसा भएको उल्लेख छ ।

सहभागीमध्ये ५३ प्रतिशतले आफूले भोगेको अनलाइन हिंसा पत्रकारिता पेसासँग सम्बन्धित रहेको बताएका थिए भने २१ दशमलव चार प्रतिशतले अनलाइनबाट सुरु भएको हिंसापछि गएर धम्की र भौतिक आक्रमणसम्म पुगेका बताएका छन् । सहभागीमध्ये ११ दशमलव चार प्रतिशतले आफूले नभई अरुले हिंसा भोगेको सुनाएको प्रतिवेदनमा छ ।

अध्ययनले सबैभन्दा बढी फेसबुक मेसेन्जरबाट हिंसा हुने देखाएको छ । सहभागीमध्ये फेसबुक म्यासेन्जरबाट ६२ दशमलव तीन प्रतिशत, १५ दशमलव पाँच प्रतिशतले ट्विटर, १२ दशमलव आठ प्रतिशत ह्वाट्सअप, ११ दशमलव सात प्रतिशत भाइवर, छ प्रतिशतले इमेल र चार दशमलव छ प्रतिशतले इन्स्टाग्रामको माध्यमबाट हिंसा भएको देखाएको छ ।

अनलाइन हिंसामा परेकामध्ये ४० दशमलव दुई प्रतिशत महिला पत्रकारले पेसामा असर परेको र अनलाइन हिंसामा परेकामध्ये ३१ प्रतिशतले पारिवारिक जीवनमा असर परेको बताएको छ । अनलाइन हिंसामा परेकामध्ये ६२ दशमलव तीन प्रतिशतले मानसिक स्वास्थ्यमा असर परेको र मानसिक असर परेकामध्ये २६ दशमलव तीन प्रतिशतले मनोसामाजिक परामर्शको सेवा लिनुपरेको अध्ययनमा छ ।    

नेपाल प्रहरीको साइबर ब्युरोमा आर्थिक वर्ष २०७७/०७८ मा साइबर अपराधसँग सम्बन्धित तीन हजार नौ सय छ उजुरी परेका छन् । तीमध्ये महिलामाथि भएको दुव्र्यवहारसम्बन्धी दुई हजार तीन, पुरुषका एक हजार चार सय ७१ र अन्य लिङ्गीका दुई सय २४ रहेका छन् । यो तथ्याङ्कलाई हेर्दा अनलाइन हिंसा बढ्दो क्रममा देखिन्छ । यसलाई सम्बोधनका लागि कानुन, संयन्त्र र व्यवहार सुधारमा ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: