गुरुङको संसद्‍मा तेस्रो यात्रा

Share:

स्याङजा :  प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ मा विजयी भएका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति हुन् । विसं २०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा उनी विजयी भएका थिए।

विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएकी एमाले नेत्री पद्माकुमारी अर्याललाई सोही क्षेत्रबाट यसपटक पराजित गर्ने उम्मेदवार गुरुङ छन् । उनीले पाँच हजार छ सय २७ मतले एमाले केन्द्रीय सचिव अर्याललाई पराजित गरेका हुन् । गुरुङले ३१ हजार चार सय ६६ मत ल्याई विजयी हुँदा अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरिन् ।

विसं २०२२ मा स्याङ्जाको साविक अर्जुनचौपारी गाविस–७ तथा हालको अर्जुनचौपारी गाउँपालिका–२ मा पिता पूर्णबहादुर गुरुङ र माता पियारी गुरुङका कान्छो सुपुत्रका रुपमा उनको जन्म भएको हो । राजनीतिक यात्रामा नेपाल विद्यार्थी संघमा आबद्धता जनाएका गुरुङ १४ वर्षमा २०३६ सालको आन्दोलनमा सहभागी भएका थिए । विसं २०३८ मा १६ वर्षमा हालको भिरकोट–२ स्थित दहथुम माध्यमिक विद्यालयको नेविसंघ एकाइ सभापति थिए ।

विसं २०४० मा नेविसंघ स्याङ्जा जिल्ला सचिव भई काम गर्नुभएका गुरुङ विसं २०४३ मा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वत्रन्त्र विद्यर्थी युनियनमा नेविसंघकातर्फबाट प्रतिस्पर्धामा उत्रेका थिए । विसं २०४८ मा कांग्रेस महाधिवेशन प्रतिनिधिकारुपमा निर्वाचित भएका गुरुङ सोही वर्ष नै नेविसंघको केन्द्रीय उपसभापतिमा निर्वाचित भए । विसं २०५३ मा नेविसंघको सभापति बनेका गुरुङ एक वर्षपछि २०५४ सालमा नेपाल तरुण दलको महासचिवमा निर्वाचित भई काम गरेका थिए ।

गुरुङ २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा सांसद बनेका थिए । यसपटक प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी भएका नेता गुरुङ तेस्रो पटक प्रतिनिधिसभामा प्रवेश गरेका छन् । पार्टीको १२औँ र १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनी १४औँ महाधिवेशनबाट भने केन्द्रीय उपसभापतिमा विजयी भएका थिए ।

गुरुङले भ्रष्टाचार र सुशासनका विरुद्धको आफ्नो जीत भएको बताएका छन् । यहाँका सर्वसाधारणले आफूले अगाडि सारेको भ्रष्टाचार र सुशासनका एजेण्डामा सहमति जनाउँदै आफ्नो मत जाहेर गरेकाले अब संसद्मा यही विषयमा आवाज उठाउने उनीले प्रतिबद्धता जनाए ।

“विकासको अवरोधक भ्रष्टाचार हुनु र सुशासन कायम हुन नसक्नु हो”, उनले भने, “मेरो जित भनेकै भ्रष्टाचारविरुद्ध आवाज उठाउने र सुशासन कायम गर्नका लागि हो, मैले जुन एजेण्डा जनतामाझ राखेको थिएँ त्यसैमा निरन्तर लाग्नेछु ।” निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएबमोजिमका विकास निर्माणका काममा पनि निरन्तर लाग्ने र पूरा गरेरै छाड्ने दाबी उनले गरे ।

कमेन्ट गर्नुहोस्
Share: