कञ्चनपुरमा जंगली हात्तीको आक्रमण बढ्यो

129
0
Share:

कञ्चनपुर : जिल्लामा पछिल्ला केही वर्षयता जंगली हात्तीको आक्रमण बढ्दो छ ।

बर्सेनि जंगली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत नोक्सानी पुग्ने गरेको छ । जंगल नजिकै मावन बस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ । मङ्गलबार साँझ बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका हीरादेवी धानुकको हात्तीको आक्रमणमा परी मृत्यु भयो । घर नजिकैको सामुदायिक वनमा दाउरा लिन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको हो ।

गत भदौमा पनि शुक्लाफाँटा नगरपालिका–७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार जंगली हात्तीको आक्रमणबाट तीन वर्षको अवधिमा सात जनाले ज्यान गुमाएका छन् ।

निकुञ्ज कार्यालयका अनुसार विसं २०७७ मा दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु भयो । त्यसैगरी विसं २०७८ मा शुक्लफाँटा–१  बन्साहका एक पुरुष र एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भयो । त्यसैगरी लालझाडी गाउँपालिका चान्देउका एक पुरुषको पनि हात्ती आक्रमणमा परी मृत्यु भयो ।

यस वर्ष पनि कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ भने एक घाइते भएका छन् । हात्तीको आक्रमणबाट मानिसमात्रै होइन, किसानको अन्नबाली र घरमा समेत क्षति हुने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले यहाँ क्षति गर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले पछिल्लो १० वर्षयता कञ्चनपुरमा हात्तीको आक्रमण बढ्न थालेको बताए । उनले हात्तीको बासस्थान साँघुरिँदै गएको र हात्ती हिँड्ने बाटोमा बस्ती बनेपछि हात्तीको आक्रमण बढ्न थालेको बताए । “हात्ती हिँड्ने करिडोरमा बस्ती बसेको बासस्थान साँघुरिँदै गएको छ”, उनले भने, “हात्ती एकै ठाउँमा बस्दैन घुमफिर गरिरहने भएकाले उसको हिँड्ने बाटोमा आक्रमण गर्ने गरेको छ ।”

उनले हात्ती एकै रातमा पाँच–सात किलोमिटरसम्म हिँड्ने गरेको बताए । “हाम्रो यहाँ वनजंगल कम छ, हात्ती भारतको दुधुवा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन्, त्यो बीचमा धेरै बस्ती छन्”, उनले भने, “मानिसले पनि सावधानी नअपनाउँदा क्षति हुने गरेको छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मौसमीरूपमा ५०–६० को बथान भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने गरेका छन् । यी हात्तीको बथान कहिले नेपाल, कहिले भारततर्फ आउजाउ गरिरहेका हुन्छन् । “भारतबाट आएका हात्ती शुक्लाफाँटा हुँदै बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्ने गरेका छन्”, उनले भने, ‘ हात्तीले साँझ र बिहानको समयमा बढी आक्रमण गर्ने गर्छ ।” कञ्चनपुरमा मध्यवर्ती क्षेत्रमा शिविर धेरै छन् । विशेषगरी हात्ती हिँड्ने बाटोमा बस्ती विस्तार भएका कारण हात्तीले अन्नबाली र घरमा समेत क्षति पुरुयाउने गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: