जलविद्युत् आयोजनामा भएको तोडफोडप्रति इपानको ध्यानाकर्षण

Share:

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन चेपे ‘ए’ जलविद्युत् आयोजनामा भएको तोडफोडप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा निर्माणाधीन ७ मेगावाट क्षमताको सो आयोजनाको  साइट अफिस एवम् पावर हाउसमा एक समूह प्रवेश गरी कार्यालयका समान र सवारी साधन तोडफोड तथा आगजनी गरेको थियो । उक्त तोडफोडबाट आयोजनाको रु ३ करोड बराबरको क्षति भएको छ ।

स्थानीय राइनास नहरसँगको सरोकारको विषयमा भएको असमझदारीपश्चात् घटाइएको यस्तो उच्छृङ्खल घटनाको इपानले भर्त्सना गरेको छ । आयोजना र त्यसका सरोकारवाला पक्षबीच कुनै पनि असमझदारी भए आपसी छलफलबाटै समाधान गर्न सकिनेमा इपानको जोड छ ।

परियोजनाको कार्यस्थलमा हुने गरेका यस्ता घटनालाई निरूत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनामा यस्ता कार्यहरु निरूत्साहित गरी सुरक्षाको प्रत्याभूति गराउन इपानले सरकारसँग माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: