देशको नेतृत्व गर्ने अवसर पाए आउँदा पिँढीले सम्झने काम गर्छु : अध्यक्ष दाहाल

Share:

कास्की : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ स्थित महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्तीको बुधबार समापन समारोहमा उनले आफू देशको नेतृत्व गर्ने ठाउँमा पुग्न लागेको उल्लेख गर्दैै नेतृत्व गर्ने अवसर पाउँदा अविस्मरणीय र आउँदा पिँढीले देख्ने, बुझ्ने र सिक्नेगरी विकासका परियोजना अघि बढाउने बताए । अध्यक्ष दाहालको जन्मस्थल र प्रारम्भिक शिक्षा हासिल गरेको सो विद्यालयको कार्यक्रममा उनले भने, “अब मसँग धेरै वर्ष समय छैन । यहाँहरूको आशीर्वाद, माया र शुभकामनाले काम ग¥र्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।”

अध्यक्ष दाहालले आफूलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने स्पष्ट पारे । उनले प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया र सबै उतारचढाव बुझ्न नपाईं व्यतित भएको र दोस्रो कार्यकालमा देशका लागि राम्रो काम गर्न सकेकामा गर्व लागेको बताए ।

राष्ट्रको एकतालाई सुदृढ गर्ने, मधेश, पहाड र हिमाललाई एकताबद्ध गरी सिङ्गो देशलाई लोकतान्त्रिक प्रक्रियामा प्रवेश गराउनका लागि दोस्रो कार्यकालमा आफू सफल भएको अध्यक्ष दाहालले स्मरण गरे ।

कमेन्ट गर्नुहोस्
Share: