प्रतिनिधिसभामा लिए नवनिर्वाचित सांसदले शपथ

Share:

काठमाडौं :  प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरूलाई शपथ गराएका हुन् ।

 शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए । संसद सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएका छन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । शपथअघि ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बोलाउनुभएको बैठकमा संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कूल दुई सय ७५ सांसद छन् ।

कमेन्ट गर्नुहोस्
Share: