लिटरेचर फेस्टिभलमा कविता वाचन : ‘ आखिर किनार पनि त किनारकै प्रतीक्षामा छ’

Share:

कास्की :

कुनै विछोडको विम्ब बोकेका दुई किनारदेखि नडराऊ

बरु एउटा किनारबाट नदी तर अर्को किनारमा खबर पुर्याइदेऊ

बाटो काट्दै गर्दा पानीका छालसँग साउती मार

छप्ल्याङ छुप्लुङ छालसँग बातचित गर

तलाउलाई दुई किनारको प्रेम सुनाइदेऊ

आखिर किनार पनि त किनारकै प्रतीक्षामा छ

बिम्ब शीर्षकको प्रस्तुत कविता कवि विकाश रोका मगरको हो। जुन कविता  नेपाल लिट्रेचर फेस्टिभलमा मगर आफैले सुनाएका थिए।

पोखरामा जारी दशौँ नेपाल लिट्रेचर फेस्टिभलको चौँथो दिन आठ कविका कविता सुनाइएको छ । ८७ औँ भूपी जयन्तीको अवसरमा राखिएको कवितावाचन सत्रमा नयाँ तथा पुराना आठ कविका एकएक ओटा कविता सुनाइएको हो।

गोविन्द पुरेको रेडियो शीर्षकको कविताबाट सुरु भएको सत्रमा अस्मिता पौडेलको प्रेमको इन्द्रेणी, नविन अभिलाशीको आगोको मान्छे, राजेन्द्र पौडेलको चुनाव, विकाश रोका मगरको बिम्ब, स्नेह सायमीको बन्दुक र रातो गुराँस, छन्दिकाको तिमी र म, रमेशजंग थापाको जाडो कठ्यांग्रिँदा, मिमांशा ढुंगेलको मेरो सपनाको नेपाल तथा तुलसी दिवसको जिन्दगी र लुगा शीर्षकका कविता वाचन भएका थिए।

अधिकांश गद्य कविता रहेको उक्त सत्रमा एउटा मात्र छन्द कविता रहेको थियो। छन्दिकाले भुजंग प्रयाग छन्दमा लेखेको कवितामा शृंगारिक रस रहेको थियो।

तिमी सम्झनाका तरेलीहरु हौ

नझर्ने सदाका परेलीहरु हौ

तिमीमा छ आशा भरोसा छ उस्तै

तिमी गीत संगीत झैँ छौ दुरुस्तै

बिहिबारदेखि सुरु भएको महोत्सवमा कवितासँगै संगीत, साहित्य, सिनेमा, अर्थतन्त्र, राजनीति, खेलकुद लगायतका विधासँग सम्बन्धित विभिन्न सत्रहरू सञ्चालन गरिएको छ । महोत्सव सोमबारसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: