कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको चीन सरकारसमक्ष आग्रह

Share:

कास्की :  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन् ।

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गरेका हुन् । “म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत् चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछुँ”, उनले भने ।

विमानस्थल निर्माणका लागि कुल लगानी करिब २२ अर्बमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो । मुख्यमन्त्री पोखरेलले ४७ वर्षदेखिको पोखरावासीको सपना बल्ल साकार भएको बताए । सो अवसरमा उहाँले सम्पूर्ण पोखरेली, परिकल्पनाकार शङ्करराज पाठक तथा विमानस्थल निर्माणमा खट्ने सबैलाई हार्दिक धन्यवादसमेत दिए । विमानस्थलबाट पहिलो चरणमा दक्षिण एसिया र दोस्रो चरणमा पश्चिमी देशमा हवाई उडान हुनुपर्ने उनको भनाइ थियो ।

 विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढ्ने मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गरे । “पोखरामा अब कम्तीमा दुई साता बस्ने र दुई हजारभन्दा बढी डलर खर्च गर्ने पर्यटक ल्याउन सक्नुपर्छ”, उनले भने । मुख्यमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय सभाहल र क्रिकेट मैदान पनि पोखराका लागि आवश्यक भएको उल्लेख गर्दै यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आवश्यक बजेटक विनियोजनका लागि आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
Share: