
बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरूले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरूले हमला गरेका थिए ।
सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो । मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरूले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए ।
जेलका अधिकारीहरूका अनुसार उनीहरू बिहानको समयमा ठूलो संख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए । सो आक्रमणमा परेर अरु १३ जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल पुर्याइएको छ ।
त्यस्तै सो आक्रमणको समय पारेर सो जेलमा रहेका २४ जना बन्दी भागेका छन् । उनीहरूलाई प्रहरीले खोजी गरेको तर भेटाएको छैन । त्यस क्रममा दुई जना बन्दुकधारी पनि मारिएका बताइएको छ ।
जेलका अधिकारीहरूले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरूले हमला गरेका अनुमान गरिएको बताएका छन् । अहिले सो जेलमा थप सुरक्षाकर्मीहरूलाई राखेर सुरक्षा दिइएको बताइएको छ ।
