टिकटकमार्फत पनि जुवा…

Share:

काठमाडौं : उपत्यकामा जुवाडेले प्रहरीको आँखा छल्न सामाजिक सञ्जालको माध्यमबाट जुवा खेल्ने र खेलाउने गरेको पाइएको छ। पछिल्लो समयमा भने ‘टिकटक लाइभ’मार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको हो। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपत्यका भित्र ई–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराई टिकटकमार्फत रकमको बाजी राखी जुवा खेलाउने गरेको सूचना आएको थियो। 

त्यही सूचनाको आधारमा कार्यालयले तत्काल टोली बनाई ती गतिविधिको निगरानी थाल्यो। प्रहरीको अनुसन्धान टोलीले उपत्यकाको ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायतका स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा चार जना फेला पारेको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।

प्रहरीले दाङ घर भइ ग्वार्को बस्ने ऋषिप्रकाश योगी, भक्तपुरको सुर्यविनायक बस्ने २७ वर्षका कपिल गिरी, भक्तपुरको थिमि बस्ने २९ वर्षका प्रेम कठायत  र कैलालीका डिल्लीराज अवस्थीलाई रंगेहात फेला पारी पक्राउ गरी कारवाही थालेको हो। 

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को  दफा १२५ को उपदफा १ बमोजिम जुवा कसुरमा थप कारवाहीका लागि ललितपुर र भक्तपुरका सम्बन्धित प्रहरीमा बुझाएको कार्यालयले जनाएको छ। 

पक्राउ परेका मध्य ऋषिप्रकाश योगीले पब्जी र पब्जी–२ नामक टिकटक बनाइ दुईवटा ई–सेवा वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिना १० दिनको अवधिमा जुवा खेलाएर २८ लाख ७३ हजार रुपैयाँ कारोबार गरेको पाइएको छ। 

कमेन्ट गर्नुहोस्
Share: