अमेरिकाबाट फर्केर घर पुग्न नपाउँदै विमान दुर्घटना

Share:

कास्की : पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आइतबार बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गरेका राजन ।

अमेरिकाबाट शनिबार काठमाडौँ झरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पती यति एयरलायन्सको जहाज चढी पोखरा आउँदै  थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पती नै दुर्घटनामा परे । 

सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बनेकी छन् । उनका छरछिमेक सबैका आँखा रसाएका छन् ।

डिभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गर्त वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए। गत वर्ष माघको १९ गते विवाह गर्नुभएका सापकोटा पुनः अमेरिका फर्की शनिबार मात्रै नेपाल आएका हुन् । उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट एवं बिहेको एक वर्षपछिको उत्सव(ज्युँती मेटेर) मनाएर फर्कने गरी राजन आएका हुन् ।

“दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ”, उनले भने । उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि उक्त विमानमा सँगै दुर्घटनामा परेका छन् । घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका कुँवर दम्पत्तिले छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाएका थिए । जहाज दुर्घटनामा हेमाजाकै चार/चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ ।

कमेन्ट गर्नुहोस्
Share: